काठमाडाैं- सरकारले चालु आर्थिक वर्ष सकिन ७ दिन बाँकी हुँदा १ खर्ब ४७ अर्ब १८ करोड ५० लाख रुपैयाँ पुँजीगत खर्च गरेको छ। चालु आवका लागि पुँजीगत तर्फ ४ खर्ब ८ अर्ब ५९ लाख रुपैयाँ विनियोजन गरिएको थियो। तर, पछिल्लो ८ दिनमा १० अर्ब ८१ करोड ८६ लाख रुपैयाँ खर्च भएको छ।
असार २४ गते २ अर्ब ५६ करोड २९ लाख रुपैयाँ खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। त्यस्तै असार २३ मा २ अर्ब २४ करोड १ लाख रुपैयाँ, असार २२ मा १ अर्ब १२ करोड ९१ लाख रुपैयाँ, असार २१ मा १ अर्ब २३ करोड ६६ लाख रुपैयाँ, असार २० मा २ करोड १३ लाख रुपैयाँ, असार १९ मा ८९ करोड ६५ लाख रुपैयाँ, असार १८ मा १ अर्ब २५ करोड ७८ रुपैयाँ र असार १७ मा १ अर्ब ४७ करोड ४४ लाख रुपैयाँ पुँजीगत खर्च भएको महालेखाले उल्लेख गरेको छ।
सरकारले चालु आवमा ४ खर्ब ८ अर्ब ५९ लाख पुँजीगत खर्चका लागि बजेट विनियोजन गरेकोमा असार २४ सम्म १ खर्ब ४७ अर्ब १८ करोड ५० लाख रुपैयाँ खर्च गरेको हो। यो कुल बजेटको ३६.०७ प्रतिशत मात्र हो। पछिल्लो ८ दिनमा २.२९ प्रतिशत विकास बजेट खर्च भएको छ। चैत १६ गतेसम्म गरेको कूल पुँजीगत खर्च १ खर्ब ३६ अर्ब ३६ करोड ६४ लाख रुपैयाँ थियो। आर्थिक वर्ष सुरु भएयताको यो अवधिसम्मको खर्च प्रतिशत ३३.७८ प्रतिशत भएको थियो।
हरेक वर्षजसो असार मसान्तमा सरकारले गर्ने विकास खर्च धेरै हुने गरेको छ। आर्थिक वर्ष सुरु हुँदा वर्षायाम हुने र त्यस लगत्तै चार्डपर्व आउने हुँदा विकास निर्माणका काम हुन मंसिर-पुस लाग्ने गरेको छ। काम सुरु नै ढिलो भएपछि सरकारले गर्ने भुक्तानी पनि ढिला नै हुने सरकारी अधिकारीहरुको भनाइ छ। फागुन-चैतमा सुरु गरेको काम सकिएर भुक्तानी गर्ने समय असारमा आइपुग्ने हुँदा असारमा धेरै खर्च भएको देखिने गरेको सरकारले दाबी गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।