काठमाडौं- ‘असाध्यै निराशाजनक भयो। क्रिकेट फर्किएकोमा सबै खुसी नै छौँ तर यति लामो समय रोकिएर सुरु भएको क्रिकेटमा पहिलो दिन नै खल्लो भयो’ इंग्ल्याण्डका विकेटकिपर जस बटलरले भनेजस्तै लामो पर्खाइपछि पनि क्रिकेटले खुसी दिन सकेन।
साउथह्याम्पटनमा भएको इंग्ल्याण्ड र वेस्ट इन्डिजबीचको पहिलो टेस्टको पहिलो दिन नै बर्षाले बिगार्यो। बारम्बार बर्षाले प्रभावित पार्दा १७.४ ओभरको मात्र खेल हुन सक्यो। जसमा टस जितेर ब्याटिङ रोजेको इंग्ल्याण्डले एक विकेट जाँदा ३५ रन बनायो।
डम सिब्ले रन नबनाउँदै शानन गाब्रियलको बलमा बोल्डआउट भए। ५५ बल खेलेर रोरी ब्रन्सले २० रन साथै ४८ बल खेलेर जोय डेन्लीले १४ रन बनाए। यसैले बन्द मैदानमा दर्शकबिनाको क्रिकेटको पहिलो दिन धेरै कुराले खल्लो बनिदियो।
खेल सुरु हुनुअघि ‘ब्ल्याक लाइभ्स म्याटर’ आन्दोलनमा समर्थन जनाउँदै खेलाडीहरुले घुँडा टेकेर एक हात मुठ्ठी पारेर उठाएर बसे। जर्ज फ्लोयडको हत्यापछि अमेरिकाबाट सुरु भएको रंगभेदविरुद्धको आन्दोलनमा यसैगरी खेलाडीहरुले आफ्नो आवाज मिसाउँदै आइरहेका छन्।
खेलाडीहरुले आफ्नो जर्सीमा पनि रंगभेदविरुद्धको आवाज लेखेका थिए। त्यसअघि कोरोना भाइरस (कोभिड १९) का कारण निधन भएकाप्रति श्रद्धाञ्जली दिन खेलाडीहरुले एक मिनेट मौन धारण पनि गरेका थिए।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसीले) क्रिकेट सुरु गर्दा पालन गर्नुपर्ने केही नियमहरु बनाएको थियो। इंग्ल्याण्ड वेस्ट इन्डिज टेस्टमा आइसिसीका ती नियमहरुको पालना गरिएको थियो।
आइसिसीले खेलाडी र अफिसियललाई मैदान र मैदानबाहिर पनि शारीरिक दुरी बनाउन आग्रह गरेको छ। यसअघि जस्तो खेलाडीले आफ्ना स्वेटर, क्याप टोपी, चस्मा जस्ता बस्तुहरु अम्पायरलाई बोक्न दिन नपाउने, खेलाडीले बल छोएपछि सेनिटाइजरले हात सफा गर्नुपर्ने, अम्पायरले हरसमय ग्लोब्स लगाएर नै बस्नुपर्ने जस्ता नियमहरु थिए। साथै ‘सेलिब्रेसन’का समयमा पनि शारीरिक दुरी बनाउन भनिएको छ। खेलाडीहरुले पानीका बोतल, रुमाल या यस्ता अरु कुनै पनि बस्तु एकअर्काले मिलेर प्रयोग नगर्न भनिएको छ।
विशेष गरी बलमार्फत नै भाइरसको संक्रमण हुन सक्ने हुँदा बल आफूसँग भएको समयमा पूरा सावधानी अपनाउन र बललाई अनावश्यक रुपमा ‘ह्यान्डल’ नगर्न समेत भनिएको छ। बल छोएको समयमा आँखा, मुख र नाकमा हात नलग्न भनिएको छ। यी सबै उपायका साथै मैदानमा हुने सबैको पहिले नै कोरोना भाइरसको परीक्षण गरिएको थियो।
दर्शक नहुँदाको शान्त वातावरणले खेलाडीको आवाज र ड्रेसिङ रुमको हाँसो समेत घर बसेर टेलिभिजनमा हेर्नेहरुले सुनिरहेका थिए। बाउन्ड्रीमा ह्यान्ड सेनिटाइजरको व्यवस्था थियो।
यसअघि सिरिज गएको जुनमा नै हुने तय थियो। सबै कुराहरु मिलाएर अहिले खेल्न गर्न सक्दा पनि कोरोना माहामारीपछि फर्किएको यो महत्वपूर्ण क्रिकेट प्रतियोगिता हो। वेस्ट इन्डिजबाट इंग्ल्याण्ड पुगेका खेलाडीहरु १४ दिन सेल्फ आइसोलेसनमा बसेर स्वास्थ्य सुरक्षाका सबै उपाय अपनाइएको थियो।
सिरिजको दोस्रो टेस्ट जुलाइ १६ देखि २० सम्म हुनेछ। तेस्रो तथा अन्तिम टेस्ट जुलाइ २४ देखि २८ सम्म हुने तय छ। यही सिरिजले क्रिकेटका अरु गतिविधि कसरी हुन्छन् भन्नेमा सहयाग गर्ने भएकाले पनि विशेष रुपमा हेरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।