काठमाडौं-स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले स्पानियोललाई पराजित गरेको छ।
बुधबार राति भएको खेलमा घरेलु टिम बार्सिलोनाले स्पानियोललाई १–० गोलअन्तरले पराजित गरेको हो। बार्सिलोनाको जितमा लुइस स्वारेजले गोल गरे।
खेलको पहिलो हाफसम्म गोलरहित बराबरीमा सकिएको थियो। तर दोस्रो हाफको ५०औं मिनेटमा बार्सिलोनका अंशु फातीले रातो कार्ड खाएका थिए। खेलको ५३औं मिनेटमा स्पानियोलका पोल लोजानोले रातो कार्ड खाएसँगै दुबै टिम १०–१० खेलाडीमा सीमित भएको थियो।
खेलको ५६औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई १–० गोलको कठिन जित दिलाए। यो जितसँगै बार्सिलोनाले शीर्ष स्थानमा रहेको रियल मड्रिडसँगको अंक दूरी घटाएको छ। बार्सिलोनाको ३५ खेलबाट ७६ अंक भएको छ। शीर्ष स्थानको रियल मड्रिडको ३४ खेलबाट ७७ अंक छ।
बुधबार राति नै भएका अन्य खेलमा रियल बेटिसले ओसासुनालाई ३–० गोलअन्तरले पराजित गर्दा भिल्लारियलले गेटाफेलाई ३–१ गोलअन्तरले स्तब्ध बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।