काठमाडौं- गृहमन्त्री रामबहादुर थापा 'बादल'ले युवा जनशक्ति लागुऔषधमा फसेकाले विकासमा प्रभाव परेको बताएका छन्। समाज र राष्ट्रको विकासका लागि युवाहरुको अग्रणी भूमिका हुने भएपनि लागुऔषध सेवनले प्रभाव परेको उनले बताएका हुन्।
मंगलबार लागुऔषध प्रयोगकर्ताको सर्वेक्षण प्रतिवेदन २०७६ सार्वजनिक गर्दै गृहमन्त्री थापाले युवाशक्ति सबल, सक्षम र स्वस्थ भए समाज र राष्ट्रको विकासमा अग्रणी भूमिका खेल्ने बताएका हुन्। प्रयोगकर्ताहरुको जीवनरक्षाका लागि यसको रोकथाम अनिवार्य भएको उनको भनाइ छ। मानव सभ्यता र संस्कृतिको रक्षा, समाज र राष्ट्र विकासका लागि लागू औषध नियन्त्रण जरुरी रहेको उनले उल्लेख गरे।
गृहमन्त्री थापाले विश्व महामारीका रुपमा फैलिएको कोरोना जस्तै लागुऔषध प्रयोगकर्ता रहेको बताएका थिए।
'कोरोना जस्तै संक्रामक रोगको रुपमा लागुऔषधको दुर्व्यसनी फैलिँदै गएको छ। यसको नियन्त्रणका लागि एकताबद्ध भएर योजनावद्ध रुपमा लगाडि बढ्नु संकल्प लिनुपर्ने अवस्था छ,' मन्त्री थापाले भने।
मन्त्रालयले योजना नै बनाएर लागुऔषध विरुद्धको अभियान सुरु गरेको उनले उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।