काठमाडौं- काठमाडौं उपत्यकाका तीन जिल्लामा हालसम्म २३९ जना कोरोना संक्रमित भेटिएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले तयार पारेको पछिल्लो तथ्यांक अनुसार काठमाडौंमा १६१, ललितपुरमा ३९ र भक्तपुरमा ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा उपत्यकामा ५४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २४ जना, ललितपुरमा २० जना र भक्तपुरमा १० जना संक्रमित देखिएका छन्।
काठमाडौंका कपन, महाराजगञ्ज, चाबहिल, भक्तपुरको चाँगुनारायण, ललितपुरको महालक्ष्मीस्थान, सुनाकोठी, थैब, गोदावरी, हात्तीवन, चापागाउँ, हरिसिद्धिलगायतका स्थानमा कोरोना संक्रमित भेटिएका छन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले अहिले कुन संक्रमित कहाँका हुन् र उनीहरुको यात्रा विवरण कस्तो छ भन्नेबारे खोजी भइरहेको जानकारी दिए। ‘हामीले प्रयोगशालाका आएको ठेगानाका आधारमा संक्रमितसँग सम्पर्क गरिरहेका छौँ। कतिपय भरतपुरबाट आएका क्यान्सरका बिरामी पनि छन्। सबै सूचना संकलन भइरहेको छ,’ उनले भने।
पछिल्लो २४ घण्टामा देशभर १८० जना संक्रमित थपिएका छन्। यो संगै कुल संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।