काठमाडौं- कोभिड– १९ का कारणले रोकिएको ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम सोमबार देशभरी एकैसाथ सञ्चालन गरिएको छ। उक्त कार्यक्रमअन्तर्गत बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइएको स्वास्थ्य सेवा विभाग पोषण शाखा प्रमुख केदार पराजुलीले जानकारी दिए।
‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रमअन्तर्गतको दोस्रो चरणको गत वैशाख ६ र ७ गते रोकिएकोमा सोमबार र मंगलबार गरी दुई दिन चल्नेछ। करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ए करिब २७ लाख ३ हजार ५ सय २२ बालबालिका र जुकाको औषधि २३ लाख ९३ हजार १ सय ५२ बालबालिकालाई खुवाइने उनले जानकारी दिए।
६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए र एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई जुकाको औषधि खुवाइन्छ। कोभिड– १९ का कारणले लकडाउनले गर्दा वैशाख ६ र ७ गते हुने कार्यक्रम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चैत २१ गते रोकेको थियो।
सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।
बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५३ सालबाट सरकारले निःशुल्क भिटामिन ए खुवाउँदै आइरहेको छ। यस्तै जुकाको औषधि २०५८ सालदेखि प्रत्येक वर्ष दुईपटक बालबालिकालाई खुवाउने गरिन्छ। पोषण शाखा प्रमुख पराजुलीले सोमबार नै १५ बहुसुक्ष्म पोषण तत्वले बनेको बालभिटा ६ महिनादेखि २३ महिनाका बालबालिका समेत सोही कार्यक्रममा खुवाइने बताए। त्यस्तै ४१ जिल्लामा लागू गरिएको बालभिटा २०६६ सालदेखि बालबालिकालाई खुवाउन थालिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।