काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवम् विदेश विभाग प्रमुख माधवकुमार नेपाल र नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीबीच आइतबार भएको भेटघाट नेकपाको भविष्यका विषयमा केन्द्रित रहेको दूतवास स्रोतले बताएको छ।
नेकपामा बढ्दै गएको आन्तरिक कहलका कारण पार्टी नै फुट्ने हो कि भन्ने आशंकाबीच वरिष्ठ नेता नेपाल र राजदूत यान्छीबीच आइतबार भेटवार्ता भएको थियो। दूतावास स्रोतले दिएको जानकारी अनुसार नेपालसँगको भेटमा राजदूत यान्छीले सरकारका विषयमाभन्दा पार्टी विभाजनको चर्चाको विषयमा छलफल गरेकी थिइन्। ‘हिजो भएको भेटवार्ता सरकारको निरन्तरका विषयमाभन्दा पार्टीलाई फुटबाट कसरी जोगाउन सकिन्छ भन्ने विषयमा बढी केन्द्रित थियो,' दूतावास स्रोतले नेपाल लाइभलाई जानकारी दिएको छ।
१० असारबाट नेकपाको स्थायी कमिटीको बैठक जारी छ। बैठकमा पार्टी र सरकारको उचित नेतृत्व गर्न नसकेको आरोप सहित नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई दुवै पद छोड्न दबाव दिइएको छ। दबाबबीच प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछोड्ने अडान लिएपछि नेकपा फुटको संघारमा पुगेको चर्चाबीच राजदूत यान्छीले नेकपाको भविष्यका विषयमा चासो राख्दै वरिष्ठ नेता नेपालसँग भेटघाट गरेको स्रोत दाबी गर्छ।
‘पार्टीका हिसाबमा नेकपा एक रहोस् भन्ने सुभेच्छा प्रकट गर्न राजदूत वरिष्ठ नेता नेपाललाई भेट्न जानुभएको हो,' स्रोतले भन्यो, ‘कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने हाम्रो नीति हो, ओली सरकारलाई गिराउने टिकाउने विषयमा दूतावास सक्रिय छैन।’
राजदूतसँग भएको भेटका विषयमा नेपाल निकटका नेताहरुले पुष्टि गरे पनि दूतावासका तर्फबाट यस विषयमा कुनै औपचारिक जानकारी भने आएको छैन।
यसअघि पार्टी विभाजनसम्बन्धि ८ वैशाखमा प्रधानमन्त्री ओलीले ल्याएको अध्यादेशपछि नेकपा सचिवालयमा ओलीलाई प्रधानमन्त्री पद छोड्न दबाब परेको थियो। प्रधानमन्त्रीलाई पद छोड्न परेको दबाबबीच चिनियाँ राजदूत यान्छीले १९ वैशाखमा नेकपाका वरिष्ठ नेताहरुसँग भेटघाट गरेकी थिइन्। सचिवालयमा अप्ठेरोमा परेका ओलीलाई राजदूत यान्छीको सक्रियतापछि राहत मिलेको चर्चा सेलाउन नपाउँदै राजदूत यान्छीको पछिल्लो सक्रियता बढेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।