काठमाडौं- लकडाउनको अवधिमा विभिन्न मुलुकबाट ४ लाख २४ हजार ३९७ मेट्रिक टन खाद्यान्न आयात भएको छ। भन्सार विभागका अनुसार चैत ११ गतेदेखि असार २१ गतेसम्म (करिब १०० दिन)मा यो परिमाणमा खाद्यान्न आयात भएको हो।
यसैगरी यो अवधिमा १ लाख २२ हजार ६७९ मेट्रिक टन तरकारी आयात भएको विभागले जनाएको छ। लकडाउनको अवधिमा १ लाख ७ हजार ५३० मेट्रिक टन गेडागुडी र ४७ हजार ६७९ मेट्रिक टन फलफूल आयात भएको विभागले जानकारी दिएको छ। विभागका अनुसार ११ हजार ६५० मेट्रिक टन दुग्धजन्य पदार्थ आयात भएको छ।
यसअवधिमा एलपी ग्यास १ लाख १२ हजार ३२१ मेट्रिक टन आयात भएको छ भने २ लाख ८ हजार ५७६ किलोलिटर डिजेल र ९३ हजार ६२७ किलोलिटर पेट्रोल आयात भएको छ। लकडाउनकै बीचमा १ अर्ब ९३ करोड रूपैयाँ बराबरको औषधिको कच्चा पदार्थ आयात भएको छ भने ६० करोड ६० लाख रुपैयाँ बराबरको औषधि आयात भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।