काठमाडौं- श्रीलंकन क्रिकेटर कुशल मेन्डिस पक्राउ परेका छन्। कुशलले चलाएको कारले ठक्कर दिँदा एक वृद्धको ज्यान गएको आरोपमा उनलाई श्रीलंकन पुलिसले पक्राउ गरेको हो।
आइतबार बिहान ५ बजे कुशलले चलाई रहेको कारको ठक्करबाट साइकल यात्री ६४ वर्षका एक वृद्धको ज्यान गएको बताइएको छ। कारको ठक्करबाट गम्भीर चोट लागेका वृद्धलाई अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा वृद्धको निधन भएको इएसपिएनले उल्लेख गरेको छ।
कुशललाई ४८ घण्टा हिरासतमा लिएर घटनाको अनुसन्धान थालिएको श्रीलंकन पुलिसले बताएको छ।
कुशल श्रीलंका टिमका भरपर्दा विकेटकिपर ब्याट्सम्यान हुन्। उनले श्रीलंकाबाट ४४ टेष्ट खेल्दा ७ शतक र ११ अर्धशतकसहित २९९५ रन बनाएका छन्। त्यस्तै, ७६ एकदिवसीय खेल खेल्दा २ शतक र १७ अर्धशतकसहित २१६७ रन बनाएका छन्। त्यस्तै, उनले २६ टि–२० खेलमा ४८४ रन बनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।