काठमाडौं- नेपाल बैंक लिमिटेडको डिल्लीबजार शाखामा विद्युतिय माध्यमको दुरुपयोग गरी हानिनोक्सानी पुर्याएकाे आरोपमा तत्कालिन शाखा प्रबन्धक भुपराज कोइरालाविरुद्ध आरोपपत्र दायर भएको छ। तत्कालिन शाखा प्रबन्धक कोइरालाले ५४ लाख ८४ हजार ४५ रुपैयाँ बराबरको अनियमितता गरेको भन्दै अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेकाे हाे।
अनियमितता गरेको आरोप लागेसँगै उनलाई हाल निलम्बित गरिसकिएको छ। निलम्बित कोइरालाले बैंकको सिस्टम ह्याक गर्ने, बैंकमा जम्मा गर्नुपर्ने व्याज आफ्नो निजी खातामा जम्मा गर्ने लगायतका कार्यहरु गरी भ्रष्टाचारजन्य कार्य गरेको भन्ने उजुरी परेको थियो। उक्त उजुरी सम्बन्धमा अनुसन्धान गर्दा नेपाल बैंक लिमिटेडको काठमाडौं बैकिङ अफिस र डिल्लीबजार शाखामा कार्यरत रहँदा नेपाल बैंक लिमिटेडले प्रयोग गर्ने बैकिङ्ग सिस्टमअन्तर्गत प्रयोग गर्ने गरी उनलाई व्यक्तिगत रुपमा प्रदान गरिएको अरु कसैले प्रयोग गर्न नमिल्ने र अरुलाई समेत प्रयोग गर्न दिन नमिल्ने व्यक्तिगत टेलर आईडी र सिस्टम सुपर युजर बिद्युतिय माध्यमको दुरुपयोग गरी बैंकलाई हानिनोक्सानी पुर्याउने उद्देश्यले बदनियत साथ नेपाल बैंक लिमिटेडको काठमाडौं बैंकिङ अफिस र डिल्लीबजार शाखामा रहेका हिसाब अनधिकृत रुपमा खर्च गरिएको खुलेको आयाेगले जनाएकाे छ।
नेपाल सरकारको समेत स्वामित्वमा रहेको नेपाल बैंक लिमिटेडबाट आफ्नो विभिन्न खातामा जम्मा गरी गराई आफूले सो रकम खाइमासी भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि हुन आएकोले उनको उल्लेखित कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरजन्य कार्य भएको हुँदा कोइरालालाई ५४ लाख ८४ हजार रुपैयाँकायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ज) बमोजिम सजाय हुन तथा हानिनोक्सानी गरी खाइमासेको बिगो रकम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम निजबाट असुल उपर गरी पाउन मागदाबी सहित विशेष अदालतमा आरोप-पत्र दायर गरिएको आयाेगले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।