काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी संकटका बीच अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भेट हुँदैछ। पार्टी एकता कायम राख्न पार्टीमा अन्तिम कसरत भइरहेका बेला ओली र प्रचण्डबीच आज वार्ता हुन लागेकाे हाे।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि आज आइतबार अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीसँग गहन र विस्तृत छलफल गर्ने जानकारी दिए। प्रचण्डले शनिबार दिउँसो माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतमलगायतसँग पनि छलफल गरेका थिए। छलफलमा पार्टी फुटको अवस्थामा पुगेको भन्दै नेताहरूले चिन्ता व्यक्त गरेका थिए। नेता नेपालले पार्टी लगभग फुटेको अवस्थामा पुगेको बताएका थिए।
शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रीहरुसँगको भेटवार्तामा पनि ओलीले पार्टी फुटको संघारमा पुगेको संकेत गर्दै आफ्नो पोजिसन क्लियर गर्न मन्त्रीहरुलाई आग्रह गरेका थिए। ‘पार्टी विभाजन होलाजस्तो छ’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भेटघाटमा सामेल एक मन्त्रीले भने, ‘तपाईंहरु कसको पक्षमा लाग्ने हो, स्पष्ट हुनुहोस्।’
पार्टी स्थायी कमिटी बैठक चलिरहेका बेला प्रधानमन्त्री ओलीले संसद् अधिवेशन अन्त्यको निर्णय गरेपछि नेताहरु रुष्ट छन्। अध्यक्ष प्रचण्डले ओलीलाई सच्चिनका लागि पनि आग्रह गरेका थिए। तर प्रधानमन्त्री ओलीले आफू सच्चिन तयार रहेको तर प्रधानमन्त्री वा अध्यक्ष कुनै पनि पद छोड्न तयार नभएको प्रतिक्रिया दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।