काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र चुलिएको विवादको समाधान निकाल्न नेताहरुले प्रयास गरिरहेका छन्। बिहीबार छलफल गरेका नेताहरुबीच शुक्रबार पनि छलफलले निरन्तरता पाउने भएकाे छ।
प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पनि वार्ता हुने जनाइएकाे छ। दुई अध्यक्षबीच भेट हुने सम्भावना रहेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटाले जानकारी दिए।
शुक्रबार नै दोस्राे तहका नेताहरुबीच पनि बैठक हुने भएको छ। स्थायी कमिटी बैठकमा विवादले चरम रुप लिएपछि सहमति खोज्न एक दिनका लागि बैठक स्थगित गरिएको थियो। शनिबार बस्ने स्थायी कमिटी बैठकअघि पार्टी नफुट्ने गरी सहमति निकाल्न नेताहरुको बैठक हुने भएकाे हाे। स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले भने, ‘पार्टी नफुटाउन आज दिनभर प्रयत्न रहन्छ। दुई अध्यक्षलाई भेट गर्न पनि आग्रह गरेका छौं।’
दोस्राे तहका नेतामा प्रचण्ड-माधवकुमार नेपाल समूहको बैठक हुने बताइएको छ। बिहीबारको स्थायी कमिटी बैठकले आन्तरिक तयारीका लागि दुई अध्यक्षबीच वार्ता हुनुपर्ने जोड दिएको थियो।
अध्यादेशको बाटोबाट प्रधानमन्त्री केपी शर्मा ओली अघि बढ्ने प्रयत्न गरेपछि विवादले झनै उग्र रुप लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।