काठमाडौं- पार्टी एकतामा संकट आएकाले अन्तिम प्रयत्न गर्ने भन्दै एक दिनका लागि नेकपा स्थायी कमिटी बैठक स्थगित गरिएको छ। शुक्रबार दुई अध्यक्ष र शीर्ष तहका नेताहरुलाई छलफल गर्ने समय दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। उनले भने, ‘पार्टी एकतामा संकट आएको छ। यसलाई जोगाउन अन्तिम प्रयत्न गरिँदैछ। त्यसका लागि एक दिनका लागि स्थायी कमिटीको बैठक स्थगित गरिएको छ।’
उनले पार्टी एकतालाई सुदृढ गर्न आपसी छलफल आवश्यकता महसुस गरेर शनिबार ११ बजेसम्मका लागि स्थगित गरिएको बताए। उनले भने, ‘भोलि दिनभर अध्यक्षको कमरेडहरुको र परिआउँदा अन्य शीर्ष तहका नेताहरुबीच पनि संकट समाधानका बारेमा छलफल हुनेछ।’
यसैबीच पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिलाई भेटेर अध्यादेशका बारेमा जानकारी लिएको उनले बताए। उनले भने, ‘अध्यादेशको चर्चा आएकाले त्यो अवस्था आइसकेको छैन भनेर राष्ट्रपतिज्यूलाई जानकारी गराउन उहाँ जानुभएको हो।’
प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश जारी नगर्ने बताएको उनले जानकारी दिए। संसद अधिवेशनको अन्त्यका बारेमा भने स्थायी कमिटी अनविज्ञ रहेको उनले बताए। उनले भने, ‘उहाँ बैठकमा आउनुभएन। जानकारी गराउनुभएन। आजै किन अन्त्य गर्नुपर्यो? त्यसको जवाफ सरकारसँगै होला।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।