काठमाडाैं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको तीव्र भेटघाट र दौडादौडले बिहीबार ११ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक अन्यौलमा परेका छ। प्रचण्ड र ओली दुवै जना राष्ट्रपति विद्यादेवी भणडारीलाई भेट्नका लागि पुगेको र राजनीतिक घटनाक्रम पनि अनपेक्षित रूपमा विकास भएकाले बैठक अन्यौलमा पुगेको हो। निर्धारित समय ११ बजे प्रधानमन्त्री ओली बैठक कक्ष नपुगेपछि बैठक सुरु नै नभई सदस्यहरू बाहिर निस्किएका थिए।
लगत्तै १२ बजे बसेको मन्त्रिपरिषद् बैठकले संसद्को चालु अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, महासचिव विष्णु पौडेल, नेताहरु माधवकुमार नेपाल र वामदेव गौतमले प्रधानमन्त्री ओलीसँग छुट्टै वार्ता गरेका थिए।
यसपछि प्रचण्डले राष्ट्रपतिलाई भेट गर्न शितल निवास गएकाले स्थायी कमिटी बैठक अझसम्म अन्यौलमा नै छ। राष्ट्रपति र प्रचण्डबीच करिब एक घन्टा कुराकानी भएको थियो।
राजनीतिक भेटघाट र सरगर्मी बढ्दै गएकाले बैठक बिहीबार बस्ने वा नबस्ने अझसम्म अन्यौल छ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटी प्रचण्ड सिधै बालुवाटार पुगेका छन्। उनी प्रधानमन्त्री निवास रहेको भवनमा प्रवेश गरेको बताइएको छ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राष्ट्रपति भण्डारीलाई भेट गरी मन्त्रिपरिषद् बैठकबाट संसद्को अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गराएका थिए।
संसद् अधिवेशन अन्त्यपछि दल फुटाउने अध्यादेश आउने भन्दै राजनीतिक सरगर्मी बढेका बेला प्रचण्ड र राष्ट्रपतिबीच यही विषयमा कुराकानी भएको प्रचण्डनिकट एक नेताले नेपाल लाइभलाई बताए। भेटघाटबारे भएका विस्तृत कुराकानीबारे भने उनले खुलाउन चाहेनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।