काठमाडौं- सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गत चैत २६ देखि काठमाडौंबाट सुरु गरेको अनलाइन व्यापार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पनि विस्तार गरेको छ। मंगलबारबाट सुर्खेतबाट पनि अनलाइन अर्डर र होम डेलिभरी सेवालाई सुरु गरिएको कम्पनीले जनाएको छ।
कोभिड १९ महामारी संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेबाट लकडाउन जारी भएपछि खाद्यान्न सामग्री बिक्री वितरणलाई सहज बनाउन चैत २६ गतेबाट नेपालफुड डटकम नामबाट खाद्य व्यवस्था कम्पनीले अनलाइन व्यापार सुरु गरेको थियो।
कम्पनीले अनलाइन माध्यमबाट चामल, सिमी, दाल, केराउ, घ्यू, पिठो, नुन, हेन्ड सेनिटाइजर र इन्डक्सन चुलो बिक्री गरिरहेको छ।
खाद्य व्यवस्था कम्पनीले आफ्नो अनलाइन अर्डर र डेलिभरीलाई थप सुदृढ र विस्तार गर्न भन्दै गत जेठ २९ गते ‘सस्तो डिल’ नामक अनलाइन कम्पनीसँग काठमाडौं उपत्यकाभित्र चक्रपथ बाहिर समेत डेलिभरीमा सहकार्य हुनेगरी सम्झौता गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।