काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटी बैठकमा सचिवालय सदस्यको आसन परिवर्तन गरिएको छ।
बैठकको पहिलो दिन बुधबार सचिवालय सदस्यहरु मञ्चमा बसेका थिए। त्यसका अतिरिक्त दुई अध्यक्षलाई मात्र सोफाको व्यवस्था थियो। उनीहरु मञ्चमै पनि अन्य सदस्यभन्दा अगाडि बसेका थिए। अध्यक्षद्वयको केही पछाडि पूर्व प्रधानमन्त्रीहरु माधव नेपाल र झलनाथ खनाल बसेका थिए। बाँकी सदस्यहरु सबैभन्दा पछाडि थिए। अध्यद्वयभन्दा अन्यलाई बस्नको लागि कुर्सीको व्यवस्था गरिएको थियो।
सोही बैठकमा केही सदस्यले अध्यक्षद्वयलाई गरिएको विशेष व्यवस्थाको आलोचना गरेका थिए।
शुक्रबारको बैठकमा ओली सहभागी भएनन्। शनिबारको बैठकमा पनि केही बेर बसेर निस्किएका थिए। शनिबारको बैठकमा सोफा झिकेर अध्यक्षद्वयलाई पनि अन्य सदस्यलाई जस्तै कुर्सी राखिएको थियो।
त्यसपछि मंगलबार साढे ११ बजे सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्षद्वय लगायत सचिवालय सदस्यहरु सबै अन्य सदस्यसँगै बसेका छन्।
पार्टीभित्र आलोचना बढ्दै गएपछि नेकपामा कुर्सीको परिवर्तन हुँदै आएको छ। सचिवालय बैठकमा पनि ओली बलियो हुँदा बाँकी सदस्यलाई बेग्लै र आफू विशेष कुर्सीमा बस्ने गरेका थिए। उनी कमजोर भएका बेलामा भने अर्का अध्यक्ष प्रचण्डलाई पनि आफू बराबर हैसियत देखिने गरी कुर्सीको 'पोजिसन' मिलाउने गरिएको थियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।