काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको मंगलबारको बैठक सुरु हुनुअघि राष्ट्रपति भेट्न शीतलनिवास पुगेका प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटार फर्किएका छन्।
बैठक सुरु हुनुअघि ओली राष्ट्रपतिलाई भेट्न गएकाले बैठकमा ढिलाई भएको थियो।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली नै बैठक स्थलमा सहभागी नभएपछि ११ बजेका लागि बोलाइएको बैठक बस्न सकेको थिएन। अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सहित माधव नेपाल, झलनाथ खनाल सहितका नेताहरु भने पहिल्यै बालुवाटार पुगिसकेका थिए।
ओली १०:२८ मा राष्ट्रपतिलाई भेट्न निस्किएका थिए। उनी ११:२० बजे फर्किएका थिए। फर्किनासाथ उनी बैठकस्थल प्रवेश गरेका थिए। उनी प्रवेश गरेसँगै बैठक सुरु भएको छ।
बुधबार नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेर सुरु भएको बैठक शुक्रबार र शनिबार बसिसकेको छ। शुक्रबारको बैठकमा ओली उपस्थित भएका थिएनन् भने शनिबारको बैठकमा केही मिनेटका लागि मात्रै उपस्थित भएका थिए।
नेकपाको बैठकमा सरकारको काम, पार्टी एकताको काम, एमसिसी लगायतका विषय एजेन्डामा छन्।
शुक्रबार र शनिबारको बैठकमा सीमा समस्या र समाधानका विषयमा छलफल भएका छन्। शुक्रबार १८ सदस्यले धारणा राखेका थिए भने शनिबार २१ सदस्यले धारणा राखेका थिए।
आइतबार ओलीले भारत र नेपालका शक्तिलाई आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको अभिव्यक्ति दिएपछि नेकपा बैठकमा त्यसको प्रभाव कस्तो पर्छ भनेर चासोपूर्वक हेरिएको छ। प्रधानमन्त्री ओलीले अपेक्षाकृत काम नगरेको र विवादित काम गरेको भन्दै गत वैशाखदेखि पार्टीभित्रैबाट उनको राजीनामाको माग उठेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।