काठमाडौं- विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक करोड नाघेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको सोमबार बिहानसम्मको तथ्यांक अनुसार विश्वभर १ करोड १ लाख ४ हजार ४५ जनामा संक्रमण पुष्टि भएको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक २५ लाख ४४ हजार ४ सय १८ छ। त्यस्तै, ब्राजिलमा १३ लाख ४४ हजार १ सय ४३, रुसमा ६ लाख ३३ हजार ५ सय ६३ र भारतमा ५ लाख २८ हजार ८ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ।
विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ५ लाख नाघेको छ। पछिल्लो तथ्यांक अनुसार ५ लाख ८ सय ८२ जनाको मृत्यु भएको छ।
अमेरिकामा १ लाख २५ हजार ७ सय ६८, ब्राजिलमा ५७ हजार ६ सय २२, बेलायतमा ४३ हजार ६ सय ३४, इटालीमा ३४ हजार ७ सय ३८ जनाको मृत्यु भएको छ।
विश्वभर ५१ लाख ६ सय ३७ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक छ।
सोमबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ७ लाख २७ हजार ७ सय १५, अमेरिकामा ६ लाख ८५ हजार १ सय ६४, रुसमा ३ लाख ९८ हजार ४ सय ३६ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि १२ हजार ७ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ३ हजार १३ जना संक्रमणमुक्त भएका छन् भने २८ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।