काठमाडौं- यो साता विदेशमा रहेका थप तीन जना कोरोना संक्रमित नेपालीको मृत्यु भएको छ। गत साता मृत्यु हुने संक्रमितको संख्या शून्य रहे पनि यो साता थप तीन जनाको मृत्यु भएको हो। योसँगै पछिल्ला नौ सातामा विदेशमा ज्यान गुमाउने संक्रमित नेपालीको संख्या १ सय ३० पुगेको छ।
यो साता मृत्यु भएका तीनै जना कतारका हुन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यो साता विदेशमा १० हजारभन्दा बढी नेपालीहरु कोरोना संक्रमणमुक्त भएका छन्। डेनमार्क, नेदरल्याण्ड, अष्ट्रेलिया, माल्टा, जापान, म्यानमार, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानाडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियम, हङकङ, दक्षिण कोरिया लगायतका १८ देशमा बस्ने नेपालीहरु कोरोना संक्रमणमुक्त भएका हुन्।
संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार हालसम्म विदेशमा रहेका १७ हजार ७ सय ९२ जना नेपालीहरु कोरोना भाइरस संक्रमित भएका छन्। संयोजक डा सापकोटाका अनुसार यही साता अफ्रिकी मुलुकमा रहेका ४ जना नेपालीमा समेत कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेनलगायत १३ देशमा रहेका कोरोना संक्रमित नेपालीहरुको मृत्यु भएको संयोजक सापकोटाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।