काठमाडौं- कोरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) श्रम स्वीकृति लिइसकेकालाई मात्रै वैदेशिक रोजगारीमा पठाउने निर्णय गरेको छ।
शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। सिसिएमसीका निर्णयहरुको बुँदा नम्बर ८ मा नयाँ श्रम स्वीकृति जारी गर्ने भनिए पनि सो नयाँ शब्द भुलवस भनिएको सिसिएमसीका सचिव महेन्द्र गुरागाँईले बताए।
‘हामीले नयाँ श्रम स्वीकृति खुल्ला गर्ने निर्णय गरेकाक छैनौं। बिदामा आएर लकडाउनका कारण अड्किएकालाई रोजगारदाता मुलुकले अनुमति दिएमा त्यस्ता व्यक्तिहरुलाई मात्र पठाइने निर्णय भएको हो।’ सचिव गुरागाइँले नेपाल लाइभलाई बताए।
सिसिएमसीका निर्णयहरुका बुँदा नम्बर ८ मा भनिएको छ, ‘वैदेशिक रोजगारीमा रही बिदामा आएका र नयाँ रोजगारीका लागि विदेश जाने श्रमिकको हकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा अध्ययनका सिलसिलामा विदेश जाने विद्यार्थीका हकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा कोभिड १९ को रिपोर्ट चाहिने भएमा सो जाँच गर्दा लाग्ने खर्च सम्बन्धित निकायले नै बेहोर्नेगरी र प्रचलित जनस्वास्थ्य प्रोटोकल पालना गर्नेगरी आवतजावत अनुमति दिने।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।