काठमाडौं- देशभर कोरोना परीक्षण कम भइरहेको भनी आलोचना भइरहेको समयमा प्रदेश पाँच र कर्णाली प्रदेशका जिल्लाहरुको कोरोना परीक्षण गरिरहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने उदाहारणीय काम गरेको छ।
प्रतिष्ठानले तीन सत्रमा ल्याब सञ्चालन गर्दै कोरोना परीक्षण गरेर रिर्पोट उपलब्ध गराइरहेको उपकुलपति प्रा डा संगीता भण्डारीले बताइन्।
‘बिहान ५ बजे शुरु हुने ल्याब एकैपटक राती १२ बजेमात्र विश्राम लिन्छ’ भण्डारीले भनिन्‚ ‘बुधबारमात्र ७८५ जनाको परीक्षण गरेका छौं।’
अबको केही दिनमा १५ सयको दरमा परीक्षण हुने उनले बताइन्। हाल प्रतिस्ठानमा एउटा मात्र पिसिआर परीक्षण मेसिन भएको र बुधबारमात्र अर्को जोडिएकाले अब हजारको संख्यामा रिर्पोट आउने उनले बताइन्।
‘तेस्रो मेसिन मगाएको छौं। उक्त कार्य सफल भएमा हामी १५ सय दैनिक रिर्पाेट दिन सफल हुन्छौं’ भण्डारीले भनिन्‚ ‘प्रदेश पाँचमा कोरोना परीक्षणको १२ हजार स्याम्पल आएकोमा अहिले ३ हजारमात्र बाँकी छन्।’
बिहान ५ बजे ल्याबमा आएको व्यक्ति १२ बजे फर्कने १२ बजे प्रवेश गरेको मानिस ६ बजे फर्कने र ६ बजे फर्केको मानिसले १२ बजेसम्म परीक्षण गर्ने व्यवस्था मिलाएको उनले बताइन्।
प्रतिष्ठानले प्रदेश पाँचका १२ जिल्लामध्ये केही र प्रदेश ६ को सल्यान र सुर्खेतका स्याम्पलहरुको पनि परीक्षण गरिरहेको उनले बताइन्।
प्रदेश पाँचको दाङ, रुकुम, रोल्पा, प्युठान र अर्घाखाँचीलगायतका जिल्लाको नमुना परीक्षण गरिरहेको उनले बताइन्।
ल्याबले समयमै परीक्षण रिर्पोट सम्बन्धित क्वारेन्टाइन, प्रदेश र स्थानीय तहमा पठाउने व्यवस्था मिलाएको उनले बताए। यहाँबाट जाने रिर्पोटका आधारमा आइसोलेनमा पठाउनेलगायतका कार्य स्थानीय तहले गर्नुपर्ने भएकाले समयमै रिर्पोट पठाउने गरिएको उनले बताइन्।
परीक्षणका लागि कच्चा सामग्री अभाव
यसरी तीव्र गतिमा परीक्षणका लागि आवश्यक कच्चा पदार्थहरू समयमा उपलब्ध नहुदाँ समस्या हुने गरेको उनले बताइन्। ‘आज पनि ल्याबबाट ‘रि एजेन्ट’ सकिएको सूचना आएको छ’ उपकुलपति भण्डारीले भनिन्‚ ‘काठमाडौंबाट मगाएका छौं, समयमा उपलब्ध नभएर रोकिने डर रहेको छ।’ जति परीक्षण गयो रि-एजेन्ट छिटो सकिने भएकाले त्यसका अभाव नहोस् भन्ने आफूहरुको चाहाना भएको उनले बताइन्। प्रतिष्ठानमा डा गणेश लामा नेतृत्वको टोलीले कोरोना भाइरसविरुद्ध अधिकतम कार्य गरेको पाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।