काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले लकडाउनको समयमा सरकारले ‘गर्नुपर्ने काम नगर्ने तर नगर्नुपर्ने काम गरेको’ जनाएको छ।
जनस्वास्थ्यमा थप संकट आउन नदिन तत्काल सदनले सरकारलाई मार्गनिर्देश गर्न अपरिहार्य भएको जनाउँदै कांग्रेसले स्वास्थ्य तथा जनसंख्यामन्त्रीको जवाफ संसदमा माग गरेको छ। संकटको समयमा सार्वजनिक भएका कल्पना पनि गर्न नहुने भ्रष्टाचार र अनियमितताका एकपछि अर्को प्रकरणले सरकारको गैरजिम्मेवारीपनको उजागर गरेको कांग्रेसले जनाएको छ।
‘एकातर्फ जनताको स्वास्थ्यमाथिको खेलवाड र अर्कोतर्फ राज्यस्रोतको दुरुपयोग अक्षम्य छ।’ कांग्रेसको ध्यानाकर्षणमा भनिएको छ, ‘पछिल्लो समयमा सरकारले कोभिड–१९ परीक्षणका सम्बन्धमा बनाएको मापदण्ड परिमार्जन नहुने हो र क्वारेन्टाइन व्यवस्थापनसम्बन्धी मापदण्ड पालना नगर्ने हो भने कोरोना महामारीले अझै भयावह अवस्था सिर्जना गर्नसक्छ।’
सरकारले संवेदनशील भएर रोकथाम र नियन्त्रणका लागि आवश्यक तयारी र व्यवस्थापन गर्नै नसकेको कांग्रेसले जनाएको छ। परीक्षण, क्वारेन्टाइन व्यवस्थापन, विदेशबाट नेपाली नागरिकको उद्धारमा सरकार चुकेको कांग्रेसले जनाएको छ। कोभिडबाहेकका बिरामीको नियमित औषधोपचार तथा अस्पताल केन्द्रित तयारीका लागि आवश्यक उपकरण जनशक्तिको पर्याप्त व्यवस्थापन गर्न सरकारले नसकेको कांग्रेसको ठहर छ।
सरकारको जानकारी लिन, सरकारलाई जवाफदेही बनाउन, गलत निर्णयलाई रोक्न र जनस्वास्थ्यसँग जोडिएका संवेदनशील विषयको दिशानिर्देश गर्न ध्यानाकर्षण गराइएको कांग्रेसले प्रष्ट पारेको छ।
विदेशमा अफ्ठ्यारोमा परी घर आउन चाहने नेपालीहरुलाई सुरक्षित तवरले मर्यादापूर्वक स्वदेश ल्याउने विषयमा सरकारले गरेको ढिलाई र अलमल गरेको कांग्रेसको जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग जवाफ माग गर्दै ध्यानाकर्षण गराउनेमा कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खांण,सचेतक पुष्पा भुसाल र गगन थापा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।