काठमाडौं- भारतमा कोरोना संक्रमणमुक्त हुनेको संख्या पनि तीव्र रुपमा बढिरहेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बुधबार बिहानसम्मको तथ्यांक अनुसार भारतमा १ लाख ८० हजार १३ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्।
विश्वभर ३९ लाख ३९ हजार २ सय ८ जना संक्रमणमुक्त भएका छन्।
सबैभन्दा बढी संक्रमण भएको देश अमेरिकामा नै संक्रमणमुक्त हुनेको संख्या पनि सर्वाधिक छ। त्यहाँ ५ लाख ८३ हजार ५ सय ३ जना संक्रमणमुक्त भएका छन्। सर्वाधिक संक्रमणमुक्त हुने देशको सूचीको दोस्रो र तेस्रो स्थानमा ब्राजिल र रुस छन्।
केही दिनयता भारत सर्वाधिक संक्रमण फैलिएको देशको सूचीमा पनि चौथो स्थानमा छ। त्यहाँ ३ लाख ४३ हजार ९१ जनामा संक्रमण पुष्टि भएको छ।
संक्रमण पुष्टि भएको संख्याको आधारमा भारतमा संक्रमणमुक्त हुने दर ५२ दशमलव ४७ प्रतिशत छ।
विश्वभर ८१ लाख ४५ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ। सर्वाधिक संक्रमण फैलिएका देशको सूचीमा अमेरिका पहिलो स्थानमा छ। सूचीको दोस्रो र तेस्रो स्थानमा क्रमशः ब्राजिल र रुस छन्।
भारतमा ९ हजार ९ सय कोरोना संक्रमितको मृत्यु भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।