काठमाडौं- लकडाउनका कारण मूल्यवृद्धिमा संकुचन आएको छ। चालु आर्थिक वर्षको १० महिनामा मुद्रास्फीति ५.८३ प्रतिशत रहेको छ। चालु आर्थिक वर्षको ९ महिनामा मुद्रास्फीति ६.७४ प्रतिशत थियो। खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ८.६६ प्रतिशत रहेको छ।
चालु आर्थिक वर्षको १० महिनामा आयात १३.० प्रतिशतले घटेको छ भने निर्यात ४.५ प्रतिशतले बढेको छ। गत वर्षको यही तुलनामा विप्रेषण आप्रवाह ६.१ प्रतिशतले घटेको छ। त्यस्तै शोधनान्तर स्थिति १२० अर्ब ९० करोड रुपैयाँले बचतमा छ। कुल विदेशी विनिमय सञ्चिति १० अर्ब २५ करोड अमेरिकी डलर रहेको छ।
उक्त सञ्चितिले १०.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ। संघीय सरकारको बैंकिङ कारोबारमा आधारित खर्च ७२५ अर्ब ६१ करोड रुपैयाँ र राजस्व परिचालन ६०६ अर्ब ८२ करोड रुपैयाँ रहेको छ।
विस्तृत मुद्राप्रदाय १०.५ प्रतिशतले बढेको छ। वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १६.१ प्रतिशतले बढेको छ। बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ११.० प्रतिशतले र निजी क्षेत्रतर्फको कर्जा ११.१ प्रतिशतले बढेको छ। वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १७३ प्रतिशत र कर्जाको वृद्धिदर १३.२ प्रतिशत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।