काठमाडौं- पहिलो पंक्तिमा रहेर काम गर्ने व्यक्तिहरुका लागि सरकारले निःशुल्क १ करोडको बिमा गर्नुपर्ने माग राख्दै नेपाली कांग्रेसले सरकारलाई ज्ञापन पत्र बुझएको छ।
७७ वटै जिल्ला कार्यसमितिहरुले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै पहिलो पंक्तिमा रहेर काम गर्ने व्यक्तिहरुको निःशुल्क बिमा गर्न माग गरिएको हो। कोरोना महामारी नियन्त्रणका लागि अग्रपंक्तिमा खटिरहेका स्वास्थ्यकर्मी, सरक्षाकर्मी र संचारकर्मीहरुको सरकारले प्रतिव्यक्ति एक करोडको बिमा गर्न माग गरेको छ। कांग्रेस जिल्ला कार्यसमिति सभापति सबुज बानियाले सरकार जनसरोकारका समस्या सम्बोधन गर्न असफल भएको बताए। सरकार भ्रष्टाचारमा लिप्त भएको, महामारीको समयमा आफ्ना कार्यकर्ता पाल्न सिमित भएको र जनताहरुको समस्या सम्बोधन गर्नेगरी अगाडि नबढेकाले प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाइएको बताए।
काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले सरकारले १० अर्ब खर्च गरेको सार्वजनिक भइरहँदा महानगरापलिकालाई एक रुपैयाँ पनि प्राप्त नभएको बताइन्। महानगरपालिकाले छुट्याएको १० करोडबाट अहिले प्रत्येक वडाहरुमा राहत वितरणका काम भइरहेको उनले बताइन्।
कांग्रेस जिल्ला कार्यसमितिले राहत न्यायपूर्ण ढंगबाट वितरण गर्नुपर्ने, शैक्षिक संस्था, औद्योगिक क्षेत्र, होटल व्यवसाय, सम्पूर्ण आर्थिक क्षेत्रको पुनरोत्थानको लागि विशेष कार्ययोजना सहित राहत प्याकेज घोषणा गर्नुपर्ने माग पनि गरेको छ। क्वारेन्टाइनको सुधार गर्नुपर्ने पिसिआर परीक्षण बढाउनुपर्ने माग पनि कांग्रेसले गरेको।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।