काठमाडौं- तोकिएको भाडा दरभन्दा बढी भाडा लिएर एयर अरबिया नेपाल आउन खोजेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान रोकिदिएको छ।
अरबियाले दुबई-काठमाडौंको लागि पाँच सय डलर लिएर दुबई-काठमाडौं उडान गर्ने प्रस्ताव लिएर मन्त्रालयमा आएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल एयरलाइन्सको भन्दा महंगो भएको भन्दै प्रस्ताव अस्वीकार गरेका हुन्।
मन्त्री भट्टराईले नेपालीहरुको उद्धारका लागि नेपाल एयरलाइन्सले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सस्तोमा पनि उडान भर्न तयार भएको बताउँदै नेपाल एयलाइन्सको भन्दा सस्तोमा जुनसुकै एयरले पनि नेपालीहरूलाई उद्धार गर्नमा कुनै रोकतोक नभएको बताए।
नेपाल एयरलाइन्सको दुबई-काठमाडौंको भाडा दर भने ३६० डलर कायम गरिएको छ। एयर अरबियाले भने जुन ५ मा १६८ जना र एक जना बच्चालाई ५०० डलरमा दुबईबाट काठमाडौं लिएर आएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।