झापा- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एमसिसी पास भए अमेरिकी सेना नेपाल पस्ने कुरा निराधार भएको बताएका छ।
कांग्रेस झापाले आइतबार आयोजना गरेको कार्यक्रममा उनले एमसिसी पारित भए अमेरिकी सेना नेपाल पस्छ भन्ने हल्ला निराधार भएको बताए। प्रवक्ता शर्माले भने- ‘अमेरिकाले विश्वका कुनै पनि मुलुकमा अनुमति मागेर प्रवेश गरेको छैन, इराकमा पनि अनुमति लिएर प्रवेश गरेको होइन। अमेरिकी सेना पस्ने हल्ला निराधार हो।‘
सुनेको भरमा टिप्पणी गर्ने प्रचलनले एमसिसी गलत हो भन्ने आमजनधारणा बनेको उनको भनाई थियो। ‘अक्षरशः पढ्नुस्, अनि एमसिसी सम्झौता कार्यान्वयनका बारे धारणा बनाउनुस्, यो राष्ट्रिय हितमा भए हितमा छ भन्नुस्, नभए छैन भन्नुहोस्’, उनले भने, ‘सुनेको भरमा धारणा बनाउनुहुँदैन।‘
मुलुकको विद्युत् प्रसारण लाइन विस्तार, उत्पादित बिजुली बिक्री–वितरणका लागि एमसिसी परियोजना लाभदायी हुने उनको भनाइ थियो।
प्रवक्ता शर्माले सरकारले कोरोना परीक्षणमा प्रभावकारी कार्य गर्न नसकेको आरोप पनि लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।