काठमाडौं- लकडाउन सुरु भएपछि बन्द भएको सेयर कारोबार खुला हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। लकडाउनको नाममा लामो समय सेयर कारोबार बन्द हुँदा पेशा गर्ने नैसर्गिक अधिकार हनन भएको र पेशाकर्मीहरुको रोजीरोटीमा पनि समस्या भएको भन्दै खुलाउन आदेश जारी हुनुपर्ने माग छ।
अधिवक्ताद्वय रपिश पोखरेल र हरिप्रसाद दाहालले दायर गरेको रिट निवेदनमा दोस्रो बजारमार्फत कारोबार हुने धितोपत्र बजारको कारोबार नियमित गर्न माग गरिएको छ। सेयर कारोबार पूर्णरुपमा ‘डिजिटल’ भइसकेको र अनलाइन सिस्टमबाट हुने भन्दै निवेदनमा त्यसले कोरोना संक्रमणको जोखिम नपारे पनि अनेक बाहनामा लामो समय बन्द गरिनु नाजायज हुने उल्लेख छ।
नागरिकले पेशा, रोजगारी र व्यवसाय गर्न पाउने अधिकार संविधानले सुरक्षित गरेको भन्दै निवेदनमा सम्भव हुने क्रियाकलापसमेत सरकारले अनावश्यक रुपमा रोकेको उल्लेख छ। बीचमा केही दिन कारोबार भएर सेयरबजार फेरि बन्द भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।