काठमाडौं- सरकारले जारी गरेको लकडाउन अवधिलाई उल्लंघन गर्दै कुनै पनि स्थानमा विरोध गरे कारबाही गर्ने चेतावनी गृह मन्त्रालयले दिएको छ। बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले यस्तो चेतावनी दिएको हो।
'नेपाल सरकारले जारी गरेको आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्याउने जो कोहीलाई पनि प्रमुख जिल्ला अधिकारीले कारबाही गर्न बाध्य हुनुपर्ने व्यहोरासमेत सम्बन्धित सबैलाई जानकारी गराइन्छ,' मन्त्रालयको विज्ञप्तिमा लेखिएको छ।
नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७६ चैत्र ९ गतेको निर्णयले मिति २०७६ चैत्र ११ गतेदेखि संक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी जारी भएको बन्दाबन्दीको आदेशलाई सरकारले पूर्ण रुपमा खुला गरेको छैन।
तर जारी लकडाउनकै बीच क्वारेन्टाइन नै चिहान बन्दै गइरहेको भन्दै युवाहरूले देशका विभिन्न स्थानमा प्रदर्शन गर्दै आएका छन्।
बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा गरिएको शान्तिपूर्ण प्रदर्शन सकिन लागेको बेला प्रहरीले जबर्जस्ती बल प्रयोग गरेको थियो। लगत्तै मन्त्रालयले कुनै पनि प्रदर्शन नगर्न सचेत गराएको हो।
मन्त्रालयले जारी गरेको विज्ञप्ति जस्ताको तस्तै
विश्वव्यापी महामारीको रुप लिएको कोभिड-१९ संक्रमणको जोखिमबाट नागरिकहरुको जीवन रक्षाका लागि नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७६ चैत्र ९ गतेको निर्णयले मिति २०७६ चैत्र ११ गतेदेखि संक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी जारी भएको बन्दाबन्दीको आदेश (Lockdown) ले निरन्तरता पाई हालसम्म पनि कायमै रहेको व्यहोरा सबैलाई जानकारी नै छ । यस अवधिमा विभिन्न कठिनाईहरुका बावजुद पनि नेपाल सरकारको आदेशको परिपालना गरी गराई कोभिड-१९ को जोखिमबाट आफू सुरक्षित रहन र अरुलाई पनि सुरक्षित राख्न सहयोग गर्नुभएकोमा हार्दिक धन्यवाद दिन चाहन्छौं ।
तर विगत केही दिन अगाडीदेखि विभिन्न बहाना र माग राखेर सामाजिक सञ्जालबाट सर्वसाधारणलाई निश्चि स्थानमा जम्मा हुन आह्वान गर्ने, जुलुस प्रदर्शन, शान्तिपूर्ण धर्नाका नाममा धेरै व्यक्तिहरुलाई सहभागी बनाउने, ज्ञापन पत्र दिन जाने आदि जस्ता कामका नाममा अनावश्यक भिडभाड गरी अप्रत्यक्ष रुपमा बन्दाबन्दीको आदेशको अवहेलना हुने गरी देखाएको प्रवृत्तिप्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल सरकारको आदेश बमोजिम आवश्यक काम नपरी हिंडडुल गर्न नहुने, हिंडडुल गर्न वा आवागमन गर्नै पर्ने भएमा पनि न्यूनतम भौतिक तथा सामाजिक दुरी कायम गर्नुपर्ने, मास्क लगायत स्यानिटाइजरहरु प्रयोग गर्नुपर्ने, अनावश्यक भिडभाड नगर्ने, नगराउने भनी उल्लेख भएकोमा उक्त प्रावधानको प्रतिकुल कार्यहरु भए गरेको देखिएको छ । बन्दाबन्दीको (Lockdown) आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रामक रोग ऐन, 2020 को दफा ३ को सजाय अन्तर्गत सम्बन्धित प्रमुख जिल्ला अधिकारीले रु १०० देखि ६०० सम्म जरिवाना र १ महिना देखि ६ महिनासम्म थुनामा राख्ने गरी कारबाही गर्न सक्ने प्रावधान रहेको व्यहोरा समेत सम्बन्धित सबैलाई स्मरण गराइन्छ ।
प्रस्तुत पृष्ठभुमिमा नेपाल सरकारले जारी गरेको बन्दाबन्दीको आदेश (Lockdown) विपरीत हुने गरी कुनै पनि काम कारबाही नगर्नु नगराउनु हुन वा कुनै पनि बहानामा संलग्न समेत नरहनुहुन सम्बन्धित सबैलाई विनम्र अनुरोध गरिन्छ । नेपाल सरकारले जारी गरेको आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्याउने जो कोहीलाई पनि प्रमुख जिल्ला अधिकारीले उक्त ऐनले दिएको अधिकार प्रयोग गरी कारबाही गर्न बाध्य हुनुपर्ने व्यहोरा समेत सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।
केदारनाथ शर्मा
सहसचिव, प्रवक्ता
मितिः २०७७।०२।२९
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।