 फाइल फोटो
                                        
                                            फाइल फोटो
                                        
                                    
                                                             
                            
                            काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन प्रस्तावमा देखाएको एकताप्रति गर्व व्यक्त गरेका छन्।
प्रतिनिधि सभाको बजेट अधिवेशनमा प्रधानमन्त्री कार्यालय अन्तर्गतको जवाफ दिन उपस्थित भएका प्रधानमन्त्री ओलीले अप्ठ्यारो परेको बेलामा एक हुने र राष्ट्रिय चरित्र देखाउने प्रवृत्ति फेरि एक पटक देखापरेको बताए । 
‘विभिन्न चुनौतीको सामना गर्न राष्ट्रियताको सवाल, कोरोना महामारी र यसले उत्पन्न गरेको अप्ठ्यारोहरुको सामना गर्न आज जुन राष्ट्रिय एकता आवश्यकता छ,’ प्रधानमन्त्रीले भने, ‘त्यो हिजोको सभामा देखापरेको छ। यसप्रति म गर्व गर्दछु।  दलीय व्यवस्थामा, संसदीय व्यवस्थामा यस्तो राष्ट्रिय एकताका परिस्थितिहरु कहिले कहिलेमात्र देख्न पाइन्छ। तर हाम्रो संसद यो मामलामा अत्यन्तै गम्भीर छ।’
सिंगो देशलाई अगाडि हाँक्न सक्षम छ भन्ने हिजोको एकताले देखाएको उनले बताए। राष्ट्रियता, स्वाधिनता, भौगोलिक अखण्डता, भूमि माथिको न्यायको हकका लागि यी साझा प्रयास भएको उनले बताए।
‘हाम्रो पुर्खाले यो देशलाई लडेर बनाएर बचाए, आज हामी अडेर मात्र हाम्रो भौगोलिक अखण्डता कायम हुन्छ’, उनले भने।
प्रधानमन्त्री ओलीले सीमा विवाद र भूमि नछोड्ने कुरामा कसले जस लिने र कसको देवत्वकरण गर्ने विषय नभएको बताए। प्रतिनिधि सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसदमा कसैले जस लिनका लागि आवाज उठाइरहेको प्रश्नको जवाफ दिदै यो सबैको विषय भएको टिप्पणी गरे।
संविधान संशोधन गरेर पुर्खाले जोगाएको भूमि अब बचाउन सबैको हक भएको प्रधानमन्त्री ओलीले बताए। ‘कसैले लेखेर, कसैले खोजेर र कसैले अनुसन्धान गरेर सहयोग गर्नुभएको छ’, प्रधानमन्त्री ओलीले भने, ‘राजनीतिक दलहरुले एक ठाउँमा उभिएर यसमा एकमत देखाएकाले यो कसैले नभई सबैले जस लिने हो।’
                                                        
                                                            
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।