काठमाडौं- अर्थमन्त्री युवराज खतिवडा विरुद्ध सर्वोच्च अदालतमा मुद्दा हाल्ने चेतावनी एक सांसदले दिएका छन्। समाजवादी पार्टीका सांसद प्रदीप यादवले बजेटको खर्च कटौती प्रस्तावमाथि बोल्दै यस्तो चेतावनी दिएका हुन्।
सरकारले संघीयता विपरित बजेट ल्याएको यादवले चेतावनी दिएका हुन्। प्रदेश २ लाई बजेटमा विभेद भएको भन्दै उनले अन्य प्रदेशभन्दा कम बजेट दिइएको आरोप लगाए। गण्डकी र सुदुरपश्चिमभन्दा कम बजेट प्रदेश २ लाई दिइएको उनको भनाई छ।
संघीयता काम छैन भन्ने देखाउन यस्तो गरिएको आरोप यादवले बताए। यसरी भएको विभेद विरुद्ध न्यायका लागि जाने उनले बताए। मानव विकास सूचकांक प्रदेशमा पछाडि रहेको र गरिबी धेरै भएको प्रदेशलाई संघले बजेट दिन नखोजेको हो कि सूत्र नमिलेको हो भनी प्रश्न सोधे।
अन्तर सरकारी वित्तीय हस्तान्तरणमा प्रदेश २ लाई विभेद भएको उनले बताए। २ अर्ब थप गर्नुपर्ने माग उनले पेश गरे। बजेटको बाँडफाँटमा विभेद किन भन्दै उनले उत्पादन र कर उठाउने प्रदेशलाई किन विभेद गरेको भनि प्रश्न उठाए।
प्रदेश २ लाई २ करोड मात्र अनुदान दिने, कर्णाली १ अर्ब ४९ करोड पाउने, सुदूरपश्मिचले १ अर्ब २९ करोड अनुदान पाउने किन? भन्दै उनले प्रश्न उठाए। प्रदेश २ लाई पनि विकास चाहिने भन्दै उनले यसरी विभेद गर्न नमिल्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।