काठमाडौं- कोरोना संक्रमण भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचाररत ७ जना शुक्रबार साँझ संक्रमणमुक्त भएर घर फर्किएका छन्। उनीहरू कर्णाली प्रदेशमा उपचार गराएकामध्ये पहिलोपटक डिस्चार्ज भएको प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिएका छन्।
'आज ७ जनाले कोरोनालाई जितेर प्रदेश अस्पतालबाट डिस्चार्ज हुनुभएको छ,' मन्त्री रावलले फेसबुकमा स्टाटस लेखेका छन्। उनीहरू सबैलाई बधाइसमेत मन्त्री रावलले दिएका छन्।
डिस्चार्ज हुने क्रममा प्रतिष्ठान परिसरमा संचारकर्मीसँग कुराकानी गर्दै निको भएका एक युवाले भरसक यसबाट जोगिन र कोरोना संक्रमण भइहाले चिन्ता नगर्न बरु होसियार हुन सबैलाई आग्रह गरेका थिए। 'भरसक यसबाट जोगिनुहोस्। संक्रमण भइहाले चिन्ता नगर्नुहोस्, होसियार हुनुहोस्,' ती युवालाई उद्धृत गर्दै मन्त्री रावलले भनेका छन्। उनको अभिव्यक्तिको प्रशंशासमेत रावलले गरेका छन्। डिस्चार्ज भएका युवाको भनाइ सबैका लागि प्रेरणादायी भएको उनको भनाइ छ।
योसँगै नेपालमा कोरोना संक्रमणमुक्त भएर घर फर्कनेको संख्या ३ सय ४० पुगेको छ। शुक्रबार दिउँसो ४ बजेर १५ मिनेटमा संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ सय ३३ पुगेको जानकारी दिएका थिए।
कर्णालीबाट ७ जना डिस्चार्ज भएका दृश्य
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।