काठमाडौं- नेपाल विज्ञापन संघ (आन) ले लकडाउन खुकुलो पारी जनजीविका सहज पार्न सरकारसँग माग गरेको छ। कोरोना भाइरस (कोभिड-१९) को संक्रमण विस्तार हुन नदिन सरकारले २०७६ चैत्र ११ गतेदेखि देशव्यापी रुपमा लगाएको लकडाउन जारी रहेको र लकडाउनलाई मात्र समाधानको उपाय मान्दा जनजीविका र व्यवसायमा ठूलो असर गरेको भन्दै आनले यस्तो माग अघि सारेको हो।
लकडाउनले गर्दा आम सर्वसाधारण जनता एवं उद्योग, व्यवसाय, कल कारखाना, सेवा उद्योग, आमसञ्चार क्षेत्रमा पर्न जाने असरलाई हृदयंगम गरि विस्तारै सुरक्षित तवरवाट जनजिवनलाई सहज हुने गरी केही खुकुलो पार्न आवश्यक भएको उसको भनाइ छ। स्वास्थ्य एवं जनजीविकालाई पुर्नविचार गर्दै लकडाउनको तरिकालाई विश्लेषण गरी समाधानका अन्य उपाय खोजी गर्न आनले माग गरेको छ।
उद्योग, व्यवसाय, कल कारखाना, सेवा उद्योग, आमसञ्चार क्षेत्रलाई निरन्तर बन्द गरिरहँदा आम जनसमुदाय, उपभोक्ता, कामदार, मजदुर, व्यवसायी, पेशाकर्मी सञ्चालक, उद्योगीलाई आर्थिक रुपमा क्षतिका साथै अरबौँको लगानीसमेत डुब्ने खतरा रहेको भन्दै उसले सरकारको ध्यानाकृष्ट गरेको हो।
'कोरोना भाइसरबाट बच्ने उपायहरुको पूर्णपालना गर्दै स्वास्थ्यसम्बन्धी जानकारीलाई शिरोपर गर्ने शर्तमा व्यवसाय तथा उद्योग सञ्चालनमा ल्याउन आन माग गर्दछ,' अध्यक्ष रवीन्द्र कुमार रिजालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। लकडाउन लम्बिँदै गए देश गहिरो आर्थिक संकटमा परी आमनागरिक भोकमरीको शिकार हुनसक्ने तर्फ सचेत रहनसमेत आनले सचेत गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।