काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेताहरु संविधान संशोधनको छुट्टै विधेयक दर्ता गराउन संसद् सचिवालय सिंहदरवार पुगेका छन्। सरकारले प्याकेजमा संविधान संशोधन गर्न अस्वीकार गरेपछि संविधान संशोधनको छुट्टै विधेयक दर्ता गराउन उनीहरू सचिवालय पुगेका हुन्।
विधेयक दर्ता गर्न नेताहरू राजेन्द्र श्रेष्ठ र लक्ष्मणलाल कर्णलगायत सचिवालय पुगेका छन्। सबै कागजी प्रक्रिया पूरा भइसकेकाले केही समयपछि विधेयक दर्ता गराइने नेता केशव झाले बताए।
सरकारका तर्फबाट निसान छापमा भएको नेपालको नक्सा संशोधन गर्न आइतबार कानूनमन्त्री शिवमाया तुम्बाहाम्फेले संविधान संशोधनको प्रस्ताव संसदमा छलफलका लागि प्रवेश गराएकी थिइन्। जसपाले भाषा, नागरिकता, राष्ट्रियसभामा हुने प्रतिनिधित्व, प्रदेशको सीमांकनलगायतमा संविधान संशोधन हुनुपर्ने माग राख्दै आएको छ।
शुक्रबार पनि जसपा नेताहरू संविधान संशोधन प्रस्ताव लिएर संसद् सचिवालय पुगेका थिए। तर प्रक्रिया पूरा नभएको भन्दै संसद् सचिवालयले फर्काएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।