काठमाडौं- बजेट आउनुपूर्व नै विद्युतीय सवारीमा कर बढ्दै गरेको सूचना बिहिरिएर २ सयभन्दा बढी विद्युतीय कार भित्रिएको विषय संसद्मा प्रवेश गरेको छ। आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल गर्ने क्रममा सांसद्हरुले यो विषयमा प्रश्न उठाएका छन्।
सांसद् मिनेन्द्र रिजालले विद्युतीय सवारीमा भन्सार लाग्दै गर्दा भित्रिएका सवारीबारे प्रश्न गर्ने ठाउँ भएको बताए। बजेटमा बढ्दै गरेको करका बारेमा व्यवसायीहरुले कसरी जानकारी पाएर त्यति ठूलो संख्यामा सवारी भित्रिए भन्ने प्रश्न गर्नुपर्ने भएको उनको भनाइ छ।
त्यस्तै अर्का सांसद् प्रेम सुवाल पनि यस बारे प्रश्न गरेका थिए। सरकारले कर लगाउँदै गरेको कुरा बाहिरिएर व्यवसायीलाई अनुचित फाइदा हुने काम कसरी भयो भन्ने अर्थमन्त्रीले जानकारी दिनुपर्ने सुवालले बताएका हुन्। जवाफमा अर्थमन्त्री डा युवराज खतिवडाले सरकार तथा अर्थमन्त्रालयबाट व्यवसायीलाई लाभ हुने गरी कुनै सूचना नबाहिरिएको बताए।
‘बजारलाई प्रभावित पार्न सकिँदैन। बजारले त्यो अनुमान लगाएर हरेक वर्षको बजेटअघि ठूलै संख्यामा गाडी भित्र्याउने गरेको छ,’ खतिवडाले भने, ‘अर्थमन्त्रालयबाट त्यो सूचना बाहिर जाने कुरा सम्भव छैन।’ सर्वसाधारणले प्रयोग गर्ने सवारीमा प्रोत्साहन नै गरिएको उनको भनाइ छ। उक्त व्यवस्था जारी नै रहने खतिवडाले जनकारी गराए।
कति मूल्यसम्मका विद्युतीय सवारीलाई छुट दिने भन्ने विषय छलफल गर्न सकिने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।