काठमाडौं- नेपालको संविधानमाथि दोस्रो संशोधन प्रस्ताव संसदमा पेश भएको छ।
आइतबारको प्रतिनिधिसभा बैठकमा कानुनमन्त्री डा शिवमाया तुम्वाहाङ्फेले नेपालको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ पेस गरेकी हुन्।
मन्त्री तुम्बाहाङ्फेले प्रस्ताव प्रस्तुत गर्न मागेको अनुमतिमा विरोधको सूचना नआएकाले सभामुख अग्निप्रसाद सापकोटाले विधेयक पेश गर्न अनुमति दिएका थिए।
सरकारले नेपालको अद्यावधिक नक्सा प्रकाशन गरेपछि संविधानको अनुसूचीमा रहेको निशान छापमा रहेको नेपालको नक्सा पनि परिवर्तन गर्न संविधान संशोधन गर्न लागिएको हो।
गत बुधबार सम्भावित कार्यसूचीमा परेको संशोधन पेश गर्ने विषय बैठकअघि हटाइएको थियो।
नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापको नक्सा संशोधनका लागि सरकारले संसद सचिवलयमा केही दिनअघि संशोधन विधेयक दर्ता गराएको थियो। अद्यावधिक नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्र पनि समावेश छन्।
अब संसदमा यो विषयमा छलफल हुने छ। संशोधन राख्नेदेखि परिपक्व हुनेसम्मको समय पार गर्दै प्रतिनिधि सभाबाट पारित हुने छ।प्रतिनिधिसभाबाट पारित भएपछि राष्ट्रियसभामा पेश हुने छ।
दुवै सदनबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि निशान छापमा औपचारिक रुपमा चुच्चे नक्सा आउने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।