काठमाडौं– नेपाली कांग्रेसले संविधान संशोधनको पक्षमा उभिने निर्णय गरेको छ। केन्द्रीय समितिको बैठकले सरकारले प्रस्ताव गरेको संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको हो।
शनिबार ७ घन्टा बढी बसेको बैठकमा मधेशी मूलका नेताहरूले संविधान संशोधनमा यसबाहेक अन्य विषय समेत समेट्न माग गरेका थिए। मधेसी दलहरूले उठाइरहेको संविधान संशोधनको पक्षमा कांग्रेस उभिनुपर्ने तर्क राखेका थिए।
संविधान संशोधनको मुद्धामा विगतमा कांग्रेस समेत सहमत भएकाले मुद्धा छोड्न नहुने तर्क राखिएको थियो। मधेशबाट प्रतिनिधित्व गर्ने प्रदीप गिरिले संविधान संशोधन नक्सामा मात्रै हुन नहुने बताएका थिए। गिरिले मधेशवादी दलको साथमा उनीहरूले उठाएका संशोधनको प्रस्ताव पनि सँगै संशोधन हुनुपर्ने बताएका थिए।
युवा पुस्ताका गगन थापा र प्रदीप पौडेलले सर्वसहमतिले संविधान संशोधनको प्रस्ताव निर्णय गर्न सुझाएका थिए। निर्णय गर्न विलम्ब गर्न नहुने उनीहरूको मत थियो।
केही नेताले पदाधिकारी बैठकले निर्णय नगरी किन केन्द्रीय समितिको बैठकमा छलफल गराउन परेको भन्दै नेतृत्वलाई प्रश्न पनि तेर्साएका थिए।
सभापति शेरबहादुर देउवा पक्षीय नेताहरूले केन्द्रीय समितिको बैठकबाट निर्णय गराउनु उपयुक्त हुने बताएका थिए।
संविधान संशोधनको प्रस्तावको कार्यसूची कांग्रेसका कारण हटेको आरोप लागेपछि कांग्रेसलाई निर्णय गराउन दबाब समेत परेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।