काठमाडौं- शुक्रबार थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्त जानकारी दिएका हुन्।
उनका अनुसार कोशी अस्पतालमा गरिएको परीक्षणमा झापाका २८ जनामा कोरोना संक्रमण देखिएको हो। यसैगरी धरानको प्रयोगशालामा सप्तरीका ४ जनामा पनि कोरोना संक्रमण देखिएको छ।
नारायणी अस्पतालमा गरिएको परीक्षणमा बाराका ४ जना र पर्साका ५ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जानकारी दिएको छ। यस्तै हाल ललितपुरमा रहेका एक जना पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ। उनको पाटन अस्पतालमा परीक्षण भएको थियो।
गण्डकी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा म्याग्दीका १ जनामा पनि कोरोना संक्रमण देखिएको पुष्टि भएको छ।
यस्तै भेरी अस्पतालको प्रयोगशालामा बाँकेका १० जनामा कोरोना पोजेटिभ आएको छ। भरतपुरको प्रयोगशालामा कपिलवस्तुका ४ र नवलपरासी पूर्वका २ जनामा कोरोना संक्रमण भेटिएको मन्त्रालयले पुष्टि गरेको हो।
यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा ८४ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको छ। उनीहरू कपिलवस्तु २३, रौतहटका ५६ र सर्लाहीका ४ जना रहेका छन्।
यस्तै रुपन्देही प्रादेशिक अस्तपालमा पनि १६ जनामा कोरोना संक्रमण भेटिएको छ। उनीहरु कपिलवस्तुका १५ जना र रुपन्देहीका १ जना रहेको प्रवक्ता डा देवकोटाले जानकारी दिएका हुन्। यस्तै राप्ती अस्पतालको प्रयोगशालमा दाङका २ जना र कपिलवस्तुका ९ जनाको रिपोर्ट पोजेटिभ आएको समेत उनले जानकारी दिए। आज पुष्टि भएका महिलाको संख्या ५ छ भने अन्य १६५ जना पुरुष हुन्। हालसम्म ११०३ पुरुष र १०९ महिला कोरोना संक्रमित भएका छन्।
योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ हजार २ सय १२ पुगेको छ। हालसम्म नेपालमा कोरोना संक्रमण भएका २ सय ६ जना उपचारपछि निको भएर घर फर्किएका छन्।
नेपालमा ६ जनाको भने कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।