काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ भित्रै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निमार्ण थालनी गर्ने भएको छ। निर्माण थालनी र बस्ती स्थानान्तरणका लागि सरकारले बजेट विनियोजन गरेको हो।
आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया थालनी गर्ने बताएका हुन्।
विमानस्थल निर्माणको काम थालनीका लागि आवश्यक प्रक्रिया पुरा गर्न उनले ५० करोड रुपैयाँ रकम विनियोजन गरेको जनकारी गराएका थिए।
सरकारले ८० वर्ग किलोमिटर क्षेत्रमा यो विमानस्थल निर्माण गर्ने भन्दै लगानी सम्मेलनमा यो विमानस्थलको खाका समेत पेस गरेको थियो।
तर, विमानस्थल निर्माणको विषयमा अहिले सर्वोच्च अदालतमा दुईवटा मुद्दा रहेका छन्। वातावरणीय विनाश हुनेगरी रुख कटानी गर्न लागिएको भन्दै वातावरणविद्हरूले मुद्दा दायर गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।