काठमाडौं- भारतले सीमा समस्या समाधानमा नेपालसँग वार्ताका लागि रचनात्मक र सकारात्मक प्रयास आवश्यक रहेको बताएको छ।
भारतीय विदेश मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अनुराग श्रीवास्तवले भारत छिमेकीसँग संवादका लागि तयार रहेको बताएका हुन्। ‘आपसी संवेदनशीलता र विश्वासको वातावरणमा भारत छिमेकीसँग संवादको लागि सधैं तयार छ’, उनले भने, ‘यो निरन्तरको प्रक्रिया हो। यसका लागि रचनात्मक र सकारात्मक प्रयास आवश्यक छ।’
उनले आफूहरुले यो विषयलाई गम्भीरतापूर्वक हेरिरहेको भन्दै नेपालले पनि सावधानीपूर्वक हेर्ने अपेक्षा गरे। उनले नेपाल भारत सम्बन्धको विभिन्न आयामहरुको चर्चा समेत गरेका थिए।
गत नोभेम्बर २ मा भारतले नयाँ राजनीतिक नक्सा जारी गरेपछि सुरु भएको पछिल्लो सीमा विवाद अझै जारी छ। वैशाख २६ मा भारतले नेपाली भूमि हुँदै मानसरोवर जाने बाटो उद्घाटन गरेपछि नेपालले पनि नयाँ नक्सा सार्वजनिक गरेको छ। साथै, नेपालको निशान छापमा अद्यावधिक नक्सा राखेर संविधान संशोधनको प्रक्रिया सुरु गरेको छ। यो विषयले भारतमा पनि प्रशस्तै चर्चा पाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।