काठमाडौँ- नेकपा स्थायी कमिटी सदस्य एवम् रुकुम पश्चिमका प्रतिनिधिसभा सांसद जनार्दन शर्माले रुकुमको सोती घटनाको छानबिनमा सहयोग गर्न प्रतिबद्ध भएको बताएका छन्। बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै शर्माले अपराधी नछुटुन्, निरपराधी नपरुन् भन्नका लागि घटनाको सत्यतथ्य छानबिन गर्नु मुख्य काम भएको बताएका छन्। चौरजहारी घटनालाई मानव सभ्यताको खिल्ली उडाउने र मानव सभ्यताको सामु उत्पन्न चुनौतीको रूपमा लिएको शर्माले बताए।
चौरजहारी घटनालाई प्रारम्भिक रुपमै सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गर्दै आएको शर्माले बताएका छन्। घटनालाई तोडमोड गर्न नपाओस् भनेरै राष्ट्रियस्तरकै दलित मोर्चाका नेता चन्द्रबहादुर विकको नेतृत्वमा अनुसन्धानमा स्थानीय स्तरबाट सहयोग पुर्याउन आग्रह गरिएको विज्ञप्तिमा उल्लेख छ।
‘सभामुखसँग समय मागी बोल्न लाग्दा केही सांसदहरुले हो-हल्लागरी मलाई बोल्नै नदिने काम भयो। मेरा सम्पूर्ण भनाई राख्नबाट बञ्चित भएँ,’ शर्माले भने, ‘मैले बोलेको स्पष्ट भनाई हुँदाहुँदै तोडमोड गरी राजनीतिकरण गर्ने प्रयास भएको छ। सबैमा आग्रह गर्न चाहन्छु कि घटनाको सत्यतथ्य सार्वजिनक होस् भनी छानबिनको माग गरेको तथ्यलाई बंग्याउने प्रयास भयो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।