काठमाडौं- लागुऔषध प्रयोग गरेको आरोपमा श्रीलंकाका क्रिकेट खेलाडी शेहान मधुशंकालाई सबै प्रकारका क्रिकेटबाट प्रतिबन्ध लगाइएको श्रीलंका क्रिकेटले जनाएको छ। तीन दिन अघि उनी प्रतिबन्धित लागुऔषध हिरोइनसहित पक्राउ परेका थिए।
मधुशंका चढेको कारको जाँच गर्दा प्रहरीले दुई ग्राम हिरोइन फेला पारेर उनलाई पक्राउ गरेको थियो। श्रीलंका क्रिकेट बोर्डले सम्पूर्ण अनुसन्धान पूरा नहुँदासम्म मधुशंकालाई सबै प्रकारको क्रिकेटबाट पर राख्ने निर्णय गरेको हो।
२५ वर्षका तीब्र गतिका बलर मधुशंकाले २०१८ मा बंगलादेशविरुद्धको एकदिवसीय डेब्यू खेलमा नै ह्याट्रिक लिएर चर्चा कमाएका थिए। एकदिवसीय बाहेक पनि दुई टी २० खेल खेलेका उनी पछिल्लो समय चोटका कारण टिमबाट बाहिर थिए। उनले श्रीलंकाका लागि तीन खेल २०१८ को जनवरी र फेब्रुअरीमा नै खेलेका हुन्।
राष्ट्रिय टिममा चोट बाधक बने पनि कोरोना भाइरस (कोभिड १९) माहामारी अघि उनी श्रीलंकाको घरेलु क्रिकेटमा पनि व्यस्त थिए।
अहिले श्रीलंका कोरोना भारसको जोखिमबाट निस्किएर क्रिकेट आयोजना गर्ने तयारीमा नै लागिसकेको छ। जसका लागि श्रीलंकामा खेल खेल्न भारत र बंगलादेशसँग कुराकानीसमेत गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।