काठमाडौं- सन् २०२१ मा हुने तय रहेको पुरुष टी २० विश्वकपको आयोजना भारतबाहेक अरु देशमा पनि हुन सक्ने भन्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)लाई चेतावनी दिएको छ।
प्रतियोगितामा कर छुट लगायतका विषयमा भारत सरकारसँग सहमति गर्न नसकेको भन्दै आइसिसीले त्यस्तो चेतावनी दिएको हो।
आइसिसी र बिसिसिआईबीच गएको दुई महिनादेखि भइरहेको इमेल आदानप्रदानमा यही मे १८ सम्म सबै कुरा यकिन गर्न आइसिसीले भनेको थियो। प्रतियोगितालाई लिएर भारत सरकारले गर्नुपर्ने काम र दिनुपर्ने साथ सहयोगको बिनासर्त यकिन गर्नका लागि र समन्वय गराउनका लागि बिसिसिआई चुकेको हो।
बिसिसिआईले भने मे १८ लाई दिइएको अन्तिम म्याद बढाएर जुन ३० सम्म लगिदिन आग्रह गरिरहेको छ। कोरोना भाइरस (कोभिड १९) का कारण आवश्यक कुराकानी हुन नसकेको भन्दै बिसिसिआईले म्याद बढाइदिन आग्रह गरेको हो। तर आइसिसिले उक्त आग्रह अस्वीकार गरिरहेको छ।
आइसिसी र बिसिसिआईबीचको यो लफडा पहिलो भने होइन। लामो समयदेखि चल्दै आएको विषय यसअघि २०१६ मा भारतले टी २० विश्वकप आयोजना गर्दा पनि देखिएको थियो। जतिबेला बिसिसिआईले अहिलेको जस्तै भारत सरकारसँग करका विषयमा यकिन कुरा राख्न नसक्दा आइसिसीले २० देखि ३० मिलियन डलरको घाटा ब्येहोर्नु परेको थियो।
२०१८ मा नै पनि आइसिसीले बिसिसिआईलाई करको विषय यकिन गर्न बारम्बार भनिरहेको थियो। यदि भारत सरकारले कर छुट नदिने हो भने एक सय मिलियन डलरको घाटा आइसिसीलाई हुने भन्दै २०२१ को टी २० विश्वकप र २०२३ को एकदिवसीय विश्वकप समेत भारतलाई आयोजना गर्न दिन कठिन हुने बताएको थियो।
उही विषयमा आइसिसी अहिले कडा जस्तो देखिए पनि बिसिसिआईले अझै समय पाउने देखिन्छ। आइसिसी अझै पनि बिसिसिआईसँग बसेर छलफल गर्ने मनसायमा नै रहेको छ। बिसिसिआईको ठूलो प्रभाव आइसिसीमा रहेकाले पनि विश्वकप आयोजना भारतबाट निकाल्न सहज हुने देखिँदैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।