काठमाडौं- नेपालमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या चार पुगेको छ। पछिल्लो पटक वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार गर्दागर्दै मृत्यु भएका एक जनामा पनि कोरोना संक्रमण भएको पाइएपछि मृतकको संख्या चार पुगेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप एक जना कोरोना संक्रमणबाट मृत्यु भएको र यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको बताएका हुन्।
७० वर्षीय उनको १० दिन पहिले नै मृत्यु भएको थियो। यसपछि अस्पतालले उनको शव परिवारलाई बुझाएर दाहसंस्कार पनि भइसकेको छ।
यसअघि सिन्धुपाल्चोककी सुत्केरी महिलाको नेपालमा कोरोना संक्रमणबाट पहिलो पटक मृत्यु भएको थियो। काभ्रेको धुलिखेल अस्पतालमा उनको जेठ १ गते उनको मृत्यु भएको थियो। यसपछि बाँकेको नरैनापुरमा क्वारेन्टाइनमा नै २५ वर्षीय युवाको मृत्यु भएको थियो भने बुटबलको क्रिमसन अस्पतालमा उचपार गर्दागर्दा गुल्मी मदानेका ४३ वर्षीय शिक्षकको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।