काठमाडौं- कोरोना भाइरस (कोभिड १९) का कारण रोकिएको स्पेनिस ला लिगा सुरु गर्ने बाटो खुलेको छ। जसमा पहिलो खेल सेभिया र रियल बेटिसबीच हुने तय भएको बताइएको छ।
ला लिगा आउँदो जुन ८ बाट बन्द रंगशालामा सुरु गर्न सकिने गरी स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले अनुमति दिइसकेका छन्। योसँगै कोरोना भाइरस (कोभिड १९) का कारण रोकिएको लिग खेलेरै सकिने देखिएको हो।
जुन ८ मा नै सुरु गर्ने अनुमति पाए पनि ला लिगाका प्रमुख जेभियर टेबासले भने जुन ११ बाट खेल हुने बताएका छन्। जसमा पहिलो खेल सेभिया र रियल बेटिसबीच हुनेछ। अहिले खेलाडीहरुको सामूहिक अभ्यास भने चलिरहेको छ।
‘हामीले जे गर्नुपर्ने हो त्यो गर्यौँ अब नयाँ ढंगले अघि बढ्नुपर्छ। अब दैनिक क्रियाकलापमा फर्किएर सहज रुपमा अघि बढ्ने बेला आयो’ सान्चेजले भनेका छन्, ‘जुन ८ बाट ला लिगा सुरु गर्न सकिनेछ, यसलाई पछ्याउनेहरु धेरै छन् तर अहिले सामान्य अवस्थामा ल्याउनुपर्ने विषय लिगमात्र होइन।’
ला लिगामा अहिले बार्सिलोना २७ खेलमा ५८ अंकसहित शीर्ष स्थानमा छ। दोस्रोमा रहेको रियल मड्रिडको २७ खेलमा ५६ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।