काठमाडौँ- कोरोना भाइरस संक्रमित भाग्न थालेपछि बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरिएको छ। जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले राती ८ बजेबाट निषेधित क्षेत्र घोषणा गरी नेपाली सेनासहितका सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो।
कोरोना संक्रमणको हटस्पट देखिएको बाँकेको नरैनापुर गाउँपालिकाले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई पत्र लेख्दै तत्काल चिकित्सकसहितको टोली पठाउन माग गरेको थियो।
‘स्थिति नियन्त्रणभन्दा बाहिर जाने अवस्था देखिएकोले तत्काल उच्चस्तरीय चिकित्सक टोली सहित थप सुरक्षाकर्मी परिचालन गरी नियन्त्रण कार्यलाई अगाडी बढाउने व्यवस्थाको लागि निर्णय अनुसार अनुरोध छ,’ गाउँपालिकाले जिल्ला प्रशासनमार्फत् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई लेखेको पत्रमा उल्लेख थियो।
जिल्ला प्रशासनको पछिल्लो निर्णयसँग अब नरैनापुरमा सुरक्षा निकायको अनुमतिबिना कोही पनि बाहिर निस्कन नपाउने भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।