काठमाडौं- सर्लाहीमा शनिबार बिहान १३ जना कोरोना संक्रमित थपिएका छन्। शनिबार थपिएका सबै कविलासी र गौडैटा नगरपालिकाका हुन्। १८ देखि ३५ वर्षका पुरुषहरूमा कोरोना पोजेटिभ देखिएको हो। भारतबाट फर्केर क्वारेनटाइनमा रहेकाहरू हुन्। कविलासीमा हाल ७० जना क्वारेनटाइनमा रहेका छन्।
गौडैटामा १६४ जना क्वारेनटाइनमा रहेका छन्। उनीहरू भारतको बम्बै, सुरता र दिल्लीबाट फर्केका हुन्। हिजोमात्र गडैटाका १३ जनाको रिर्पोट नेगेटिभ आएको थियो। आज कति थप भए त्यसको रिर्पोट जिल्ला प्रशासन कार्यालयबाट आइनसकेको उनले बताए। क्वारेन्टाइनमा रहेका अधिकांशको रिर्पोट पोजेटिभ आउने सम्भावना बढेको गौडैटाका मेयर देवेन्द्रकुमार यादवले बताए।
‘हिजो १३ जनामा पोजेटिभ आएको थियो‚ आज पनि थपिएको छ। गाउँघरमा खुल्ला खुल्ला मानिसहरू हिँडेका छन्’ नगर प्रमुख यादवले भने ‘नाका राम्रोसँग सिल भएको छैन, रातिराति भारतीय एसएसपीले लखेटेर नेपाल छिराइदिन थालेको छ।’ आफूहरूलाई अस्पताल पनि अभाव भएको उनले बताए।
सर्लाहीमा स्तरीय अस्पताल छैन, वीरगंज भरिएको र जनकपुर पठाउँदा राम्रो समन्वय नभएको उनको गुनासो छ।
‘यहाँ दैनिक बिरामी थपिइरहेका छन् तर सामाजिक विकासमन्त्री भने कुनै रेस्पोन्स नै गर्दैनन्’, मेयरले भने‚ ‘वीरगञ्जमा अस्पताल भरिएको छ, जनकपुरमा पठाइरहेका छौं। हिजो फोन गरेर उहाँले जनकपुर किन पठाएको भन्नुभयो। मैले पनि कहाँ पठाऊँ त? अमेरिका पठाइदिउँ? भनेर जवाफ दिएँ। यहाँ कुनै अस्पताल छैन। भारतले कोराना पोजेटिभ देखिएकालाई राति नै लखट्ने गरेको छ। मन्त्री यस्तो समयमा पर्सामा बसिरहनुभएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।