काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिका-१६ का वडाध्यक्ष श्यामबाबु चौरासीयासहित तीन जना विरुद्ध गलत घरबाटो निर्माण गरी मालपोतको राजश्व छली गरेको आरोपमा मुद्दा दायर गरेको छ।
उक्त वडा निवासी जहराती मिया धुनियोको फिल्डमा २८ फिटको मोटर बाटो रहेको जग्गालाई १५ फिटको देखाई घरजग्गाको घर बाटो सिफारिस गरेर राजश्व छली गर्ने कार्यमा सहयोग गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
जग्गाको न्यूनतम मूल्यांकन पुस्तिका अनुसार धुनियाले बिक्री गरेको ११ धुरको ६० लाख हुनुपर्नेमा ३३ लाख मात्र मुल्यांकन देखाई २५ लाख कम थैली राखेर राजश्व छलेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
अख्तियारले सरकारले प्राप्त गर्ने राजश्व मिलेमतोको १ लाख ७७ हजार ३ सय ७५ रुपैयाँ गुमाएकाले सोही बराबरको रकम असुल हुनुपर्ने दावी अख्तियारले गरेको छ। अख्तियारले चौरासियासहित जग्गा बिक्रीकर्ता मिया धुनिया र जग्गा खरिदकर्ता ग्यान्ती देवीलाई पनि राजश्व छलीमा संलग्न भएको भन्दै भ्रष्टाचार निवारण ऐन अनुसार कैद र जरिवाना गर्न माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।