नेपालगंज- बाँकेका २१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ७० पुगेको छ।
खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोभिड १९ को आइसोलेसनमा उपचाररत उनीहरु दोस्रो पटकको कोरोना परीक्षणको रिपोर्ट नेगिटिभ आएपछि शुक्रबार बिहान डिस्चार्ज भएका हुन्।
कोरोना संक्रमित निको भएर एकै पटक धेरै संख्या डिस्चार्ज भएको यो पहिलो पटक हो। उनीहरु नेपालगञ्ज उपमहानगरालिका वडा नम्बर ८ का हुन्। जहाँ २५ संक्रमित भेटिएका थिए।
डिस्चार्ज हुनेमध्ये बाँकेका पहिलो पटक कोरोना देखिएका मुस्लिम धर्मगुरु ६० वर्षिय पुरुष पनि छन्। वैशाख १९ गते पहिलो संक्रमित भेटिएका थिए।
उनीहरु वैशाख १९ देखि २३ गतेसम्म भर्ना भएका थिए।
बाँकेमा कुल संक्रमितको संख्या १०१ पुगेको छ। बाँकेको नरैनापुरमा मात्र संक्रमित हुनेको संख्या एक मृत्युसहित ७४, नेपालगञ्ज उपमहानगरपालिकामा २५ र खजुरा गाउँपालिका एक नर्ससहित दुई जना संक्रमित छन्। जसमध्ये २१ जना आज डिस्चार्ज हुन लागेको हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।