काठमाडौं- टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्यालले गैरकाननी रुपमा अकुत सम्पत्ति कमाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले विशेष अदालतमा अर्यालविरुद्ध १७ करोड ८३ लाख ४१ हजार बराबर दाबी गर्दै मुद्दा दायर गरेको हो।
विस २०३९ साउन १ मा जिल्ला विकास समितिको कार्यालय स्याङ्जाबाट गाविस सचिव (राजपत्र अनंकित द्वितीय श्रेणी)मा स्थायी नियुक्ति प्राप्त गरी निजामती सेवामा प्रवेश गरेका थिए। नायब सुब्बाबाट बढुवा हुँदै काठमाडौं जिल्ला साविक भीमढुंगा गाविसलगायत टोखा नगरपालिकाका कार्यालयहरु समेतमा कार्यरत उनि शाखा अधिकृतको पदबाट अनिवार्य अवकाशमा गएका थिए। उनले अवैध आर्जनबाट विभिन्न स्थानमा जग्गा खरिद गरेको अख्तियारको अनुसन्धानमा देखिएको थियो। 
उनले अधिकांश जग्गा आफू कार्यरत गाविस तथा नगरपालिकाअन्तर्गतका स्थानहरुमा कार्यरत अवधिमा जोडेको अख्तियारको अनुसन्धानमा देखिएको छ। 
ठाउँठाउँमा घर जग्गा जोडी आफ्नो कार्यकालका कर्मचारीलाई समेत दबाबमा पारी नगरपालिकालाई भ्रष्टाचारको अखडा बनाई गैरकानूनी सम्पत्ति आर्जन गरी उच्च जीवनयापन गरिरहेको आयोगको आरोपत्रपमा उल्लेख छ।  
सार्वजनिक सेवामा प्रवेश मितिदेखि आर्थिक वर्ष २०७५/०७६ सम्मको अवधिलाई जाँचअवधि लिएर गरिएको अनुसन्धानमा संकलित प्रमाणका कागजातहरुबाट अर्याल तथा यसरी श्रीमती लक्ष्मीदेवी उपाध्याय अर्यालको नाममा दर्ता गरेको आरोपपत्रमा उल्लेख छ।
                                                        
                                                            
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।